मध्यपूर्वमा जारी तनावका बीच इरान र अमेरिकाबीचको सम्भावित शान्ति वार्ता थप जटिल बनेको छ। इरानले अमेरिकाले वार्ताका क्रममा ‘अव्यावहारिक’ तथा ‘अस्वीकार्य’ माग राखेको आरोप लगाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इरानबीच युद्धविराम तथा क्षेत्रीय सुरक्षा सम्बन्धी वार्ताको तयारी भइरहेका बेला इजरायलले दक्षिणी लेबनानमा ठूलो स्तरमा हवाई आक्रमण गरेको छ। त्यसपछि इरानले यस्तो अवस्थामा शान्ति वार्ता अगाडि बढाउनु ‘अनुचित’ हुने चेतावनी दिएको हो।
इरानका अधिकारीहरूले लेबनानमाथिको आक्रमणलाई युद्धविराम उल्लंघनको रूपमा व्याख्या गरेका छन्। उनीहरूले लेबनान र क्षेत्रीय सहयोगी समूहहरूमाथिको आक्रमण नरोकिएसम्म दीर्घकालीन सम्झौता सम्भव नरहेको बताएका छन्।
यसबीच इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न स्थानमा सयभन्दा बढी लक्ष्यमा हमला गरेको रिपोर्ट सार्वजनिक भएको छ। इजरायलले यी आक्रमणहरू सुरक्षा तथा ‘बफर जोन’ विस्तारका लागि गरिएको दाबी गरेको छ।
अमेरिकाले भने इरानलाई वार्तामा गम्भीर बन्न आग्रह गरेको छ। अमेरिकी पक्षले इरानको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेको समाचारमा उल्लेख छ।
मध्यपूर्वको यो तनावले विश्व बजारमा पनि असर पारेको छ। विशेषगरी तेल आपूर्ति हुने महत्वपूर्ण सामुद्रिक मार्ग स्ट्रेट अफ होर्मुजमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उतारचढाव देखिएको छ।
विश्लेषकहरूले यदि इजरायल–लेबनान संघर्ष र इरान–अमेरिका विवाद थप चर्कियो भने सम्पूर्ण मध्यपूर्वमा ठूलो सुरक्षा संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।

Post a Comment
0Comments